दुवै नेताले आतंकवादलाई निर्मूल पार्नका लागि एकजुट र ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसी प्रजातन्त्र दिवसको अवसरमा विशेष अतिथिको रूपमा भारत आएका छन्। गत बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो । दिल्लीको हैदरावाद भवनमा दुवै राष्ट्र प्रमुखबीच भेटवार्ता भएको हो ।

बैठकपछि प्रधानमन्त्री मोदीले दुई देशले रक्षा क्षेत्रमा सहयोग बढाउने र आतंकवाद विरोधी सूचनाको आदानप्रदानलाई सुदृढ गर्ने निर्णय गरेको बताए। साथै दुई देशका राष्ट्र प्रमुखले द्विपक्षीय व्यापारको परिमाण बढाउने पनि प्रतिवद्धता जनाएका छन् । आगामी ५ वर्षमा इजिप्टसँगको व्यापार १२ अर्ब डलरमा पु¥याउने योजना रहेको पनि उनले बताए ।

यस सम्बन्धमा इजिप्टका राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँगको भेटमा विश्वका विभिन्न विषयमा छलफल भएको बताए । अब्दुल फताह तीन दिने भ्रमणमा गत मंगलबार भारत पुगेका थिए । यसपटक प्रजातन्त्र दिवसको कार्यक्रममा उनी प्रमुख अतिथि हुन् । उनी गत बिहीबार कार्यक्रममा सहभागी भएका थिए । प्रजातन्त्र दिवसको परेडमा इजिप्टको सेनाको एक सैनिक टुकडीले पनि भाग लिएको थियो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले इजिप्टका राष्ट्र प्रमुखको आगमन र भेटबारे ट्वीट गरेका छन्। उनले लेखेका छन्, 'इजिप्टसँग हाम्रो मित्रता गहिरो छ। योसँगै अल–सिसी तेस्रो पटक भारत आएका हुन् । यसअघि उनी सन् २०१५ र २०१६ मा भारत आएका थिए ।
इजिप्टका राष्ट्रपतिको भारत भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच युवा विकास, सांस्कृतिक आदानप्रदान, प्रविधिको क्षेत्रमा पारस्परिक सहयोग, राष्ट्रिय सञ्चारमाध्यमको प्रसारणमा पारस्परिक सहयोग र साइबर सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । इजिप्ट अफ्रिका र युरोपमा बजारहरूको लागि प्रमुख प्रवेशद्वार हो। यस्तो अवस्थामा भारत इजिप्टसँग सम्बन्धको दायरा बढाउन इच्छुक छ ।