भारत-जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको प्रयासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्झनुभयो।

मारुती-सुजुकीको सफलताले भारत-जापानको बलियो साझेदारीको सङ्केत गरेको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले विगत आठ वर्षमा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।

आइतबार महात्मा मन्दिर, गान्धीनगरमा भारतमा सुजुकीको ४० वर्ष पूरा भएको सम्झनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, "जब यो मित्रताको कुरा आउँछ, प्रत्येक भारतीयले हाम्रा मित्र, पूर्व प्रधानमन्त्री स्वर्गीय शिन्जो आबेलाई पक्कै सम्झन्छ।"

"आबे सान" गुजरात आएर यहाँ आफ्नो समय बिताएको सम्झना गर्दै प्रधानमन्त्रीले भने कि गुजरातका जनताले यसलाई मायापूर्वक सम्झेका छन्। “आज प्रधानमन्त्री किशिदाले हाम्रा देशहरूलाई नजिक ल्याउनका लागि गरेको प्रयासलाई अगाडि बढाइरहनुभएको छ”, उनले भने। गुजरात-महाराष्ट्रको बुलेट ट्रेनदेखि यूपीको बनारसको रुद्राक्ष केन्द्रसम्म, धेरै विकास परियोजनाहरू भारत-जापान मित्रताका उदाहरण हुन्, प्रधानमन्त्री मोदीले भने।

एक भिडियो सन्देशमा जापानी प्रधानमन्त्री फुमियो किशिदाले ४ दशकको अवधिमा मारुती सुजुकीको बृद्धिले भारत र जापानबीचको आर्थिक सम्बन्ध बलियो भएको बताए ।

"प्रधानमन्त्री मोदीसँग सँगै म 'जापान-भारत रणनीतिक र विश्वव्यापी साझेदारी' लाई थप विकास गर्न र "स्वतन्त्र र खुला इन्डो प्यासिफिक" लाई साकार पार्न प्रयासहरू गर्न कटिबद्ध छु, उनले थपे।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले सन् २००९ मा सुरु भएको भाइब्रन्ट गुजरात समिटको साझेदार देशको रूपमा जापान संलग्न रहेको बताए ।

जापानी लगानीकर्तालाई घरमै बस्ने अनुभूति गराउन गुजरातमा मिनी जापान बनाउने संकल्प गरिएको उल्लेख गर्दै उनले त्यसलाई साकार पार्न धेरै साना-ठूला उपायहरू गरिएको बताए । धेरै विश्वस्तरीय गल्फ कोर्स र जापानी खानाका रेष्टुरेन्टहरूको निर्माण र जापानी भाषाको प्रवर्द्धन केही उदाहरण हुन्, उनले थपे।

गुजरातमा सुजुकीसँगै करिब १२५ जापानी कम्पनीहरू सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले अहमदाबादमा जेट्रोद्वारा सञ्चालित सपोर्ट सेन्टरले धेरै कम्पनीहरूलाई प्लग-एण्ड-प्ले सुविधा उपलब्ध गराउँदै आएको छ भने जापान इन्डिया इन्स्टिच्युट फर म्यानुफ्याक्चरिङले धेरै मानिसहरूलाई तालिम दिइरहेको बताए। प्रधानमन्त्रीले गुजरातको विकास यात्रामा ‘काइजेन’ को योगदानको उल्लेख गर्दै उनले काइजेनको पक्षलाई प्रधानमन्त्रीको कार्यालय र अन्य विभागहरूमा पनि लागू गरेको बताए।

कार्यक्रममा, प्रधानमन्त्री मोदीले भारतमा सुजुकी समूहका दुई प्रमुख परियोजनाहरू - गुजरातको हंसलपुरमा सुजुकी मोटर गुजरात इलेक्ट्रिक भेहिकल ब्याट्री उत्पादन सुविधा र खरखोडा, हरियाणामा मारुती सुजुकीको आगामी वाहन उत्पादन सुविधाको शिलान्यास गरे। "गुजरात संसारको शीर्ष मोटर वाहन उत्पादन केन्द्रको रूपमा उभिएको छ," प्रधानमन्त्री मोदीले टिप्पणी गरे।