सोलुखुम्बु जिल्लामा आयोजनाको कुल अनुमानित लागत ४१.१३ मिलियन

नेपालस्थित भारतीय दूतावासले सोलुखुम्बु जिल्लामा फोहोर पानी व्यवस्थापन आयोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबीच खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन आयोजना निर्माणका लागि एमओयूमा हस्ताक्षर भएको भारतीय दूतावासले जनाएको छ ।

यो सामुदायिक विकास आयोजना भारत-नेपाल विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा कुल अनुमानित लागत रु. ४१.१३ मिलियनमा निर्माण हुनेछ ।

भारतीय दूतावासका अनुसार यस आयोजनाको निर्माणले खुम्जुङ गाउँ, सोलुकुम्बुमा बसोबास गर्ने जनताको स्वास्थ्य र गुणस्तरीय जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई जनस्वास्थ्य सुधारका लागि अत्यावश्यक रहेको सुरक्षित खानेपानी र सुधारिएको सरसफाइको व्यवस्था मिल्ने भारतीय दूतावासले जनाएको छ ।

सन् २००३ देखि, भारतले नेपालमा ५२३ वटा उच्च प्रभाव विकास परियोजनाहरू सम्पन्न गरेको छ र नेपालका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, जडान, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणका क्षेत्रमा ४६७ परियोजनाहरू सम्पन्न गरेको छ।

जसमध्ये सोलुखुम्बु जिल्लामा २ आयोजनासहित प्रदेश नं १ नेपालमा ७८ वटा आयोजना सम्पन्न भएका छन् ।

निकट छिमेकी भएको नाताले भारत र नेपालले व्यापक र बहुक्षेत्रीय सहयोग साझा गरेका छन् ।

यस परियोजनाको कार्यान्वयनले आफ्ना जनताको उत्थानमा नेपाल सरकारको प्रयासलाई बलियो बनाउन भारत सरकारको निरन्तर सहयोगलाई झल्काउँछ।