भारतले नवीकरणीय ऊर्जाका हरेक स्रोतको पूर्ण उपयोग गर्न काम गरिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

सन् २०३० सम्म मा भारतले गैर-जीवाश्म ऊर्जा स्रोत‌बाट ४० प्रतिशत विधुत उत्पादन गर्ने लक्ष्य राखेको थियो। जुन अहिले नै भारतले हासिल गरिसकेको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताएका छन्।

यस सन्दर्भमा उनले भने, " सन् २०१६ मा भारतले सन् २०३० सम्म मा गैर-जीवाश्म ऊर्जा स्रोतहरूबाट ४० प्रतिशत विधुत उत्पादन गर्ने लक्ष्य राखेको थियो। जुन नोभेम्बर महिनामा नै भारतले हासिल गरिसकेको छ।"

हिमाचल प्रदेशमा ११ हजार करोडभन्दा बढीको जलविद्युत आयोजनाको उद्घाटन र शिलान्यासपछि प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

शिलान्यास गरिएका जलविद्युत आयोजनाहरुमा रेणुकाजी बाँध आयोजना, लुहरी प्रथम चरण जलविद्युत आयोजना र धौलसिध जलविद्युत आयोजना पर्दछन् ।

प्रधानमन्त्री मोदीले सावरा–कुड्डु जलविद्युत आयोजनाको पनि उद्घाटन गरेका छन् ।

आज सुरु गरिएको जलविद्युत परियोजनाहरूले पर्यावरणमैत्री विकासका लागि भारतको प्रतिबद्धता झल्काउने, प्रधानमन्त्री मोदीले जोड दिनुभयो।

भारतले आफ्नो वातावरण सम्बन्धी लक्ष्यहरू कुन गतिमा पूरा गरिरहेको छ भन्ने बारेमा कुरा गर्दै प्रधानमन्त्री मोदीले भने, “हाम्रो देशले कसरी वातावरण बचाएर विकासलाई गति दिइरहेको छ, त्यसका लागि सारा विश्वले भारतको प्रशंसा गरिरहेको छ। सौर्य ऊर्जादेखि जलविद्युत्, वायु ऊर्जादेखि हरित हाइड्रोजनसम्म नवीकरणीय ऊर्जाका हरेक स्रोतको पूर्ण उपयोग गर्न मुलुक निरन्तर लागिरहेको छ ।”

प्रधानमन्त्रीले एकल प्रयोगको प्लाष्टिक उन्मूलनको बारेमा पनि बताउनुभयो ।

उनले प्लाष्टिकका कारण पहाडमा हुने क्षतिप्रति सरकार सचेत रहेको र प्लाष्टिक फोहोर व्यवस्थापनमा काम गरिरहेको बताउनुभयो ।

“हिमाचललाई सफा, प्लाष्टिक र फोहोरमुक्त राख्नु पर्यटकहरूको पनि ठूलो जिम्मेवारी छ। प्लास्टिक जताततै फैलिसकेको छ, नदीमा प्लाष्टिक गइरहेको छ, त्यसले हिमाचललाई पु¥याइरहेको नोक्सानीलाई रोक्न सबै मिलेर पहल गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले हिमाचल प्रदेशमा औषधि क्षेत्रको विकासको प्रशंसा गरे।

उनले भने, ‘यदि भारतलाई आज विश्वको औषधि निर्माता भनेर भनिन्छ भने त्यसको पछाडिको शक्ति हिमाचल हो। हिमाचल प्रदेशले कोरोना महामारीको समयमा अन्य राज्यहरूलाई मात्र नभई अन्य देशहरूलाई पनि मद्दत गरेको छ।'

राज्यको उत्कृष्ट प्रदर्शनको सन्दर्भमा, प्रधानमन्त्रीले भने, "हिमाचलले आफ्नो सम्पूर्ण वयस्क जनसंख्यालाई खोप उपलब्ध गराउन बाँकी राज्य लाई पछाडि पारेको छ। यहाँको सरकारमा रहेकाहरू राजनीतिक स्वार्थमा डुबेका छैनन्, तर हिमाचलका प्रत्येक नागरिकलाई कसरी खोप लगाइन्छ भन्नेमा पूर्ण ध्यान दिएका छन् ।”

उनले हिमाचल प्रदेशको मण्डीमा आज हिमाचल प्रदेश वैश्विक लगानी भेटको दोस्रो संस्करण समारोहको पनि अध्यक्षता गर्नुभएको छ। सम्मेलनले यस क्षेत्रमा करिब २८ हजार करोडको लागत पर्ने परियोजनाहरू मार्फत लगानीलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।