नेपालस्थित भारतीय दूतावासका कार्यवाहक नामग्या सी खम्पा द्वारा प्रदर्शनीको उद्घाटन

नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार 'ब्राण्ड इन्डिया’ अर्थात् भारतीय उत्पादन तथा सेवालाई प्रवर्द्धन गर्ने र नेपालसँग द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्ने उद्देश्यले भारतीय उद्योग परिसंघ (सीआईआई) ले वाणिज्य तथा उद्योग मन्त्रालयको सहयोगमा तीनदिने (डिसेम्बर २१-२३) उद्यम भारत प्रदर्शनी को आयोजना गरेको छ।

मंगलबार भारतीय दूतावासका कार्यवाहक नामग्या सी खम्पाले प्रदर्शनीको उद्घाटन गर्नुका साथै यसमा सहभागी भारतीय तथा नेपाली कम्पनीहरूसँग अन्तरक्रिया गरेको भारतीय दूतावासले जनाएको छ।

विज्ञप्ति अनुसार उनले आयोजकहरूलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई सुदृढ गर्न नेपाली उद्यमीहरूसँग बी२बी साझेदारी अन्वेषण गर्न पनि प्रोत्साहित गरेकी थिइन्।

भारतीय उत्पादनलाई प्रवर्द्धन गर्ने र दुवै पक्ष बीच उपलब्ध व्यापार अवसर बारे सचेतना सिर्जना गरी द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्नु नै यस प्रदर्शनी को मुख्य उद्देश्य रहेको विज्ञप्ति ले जनाएको छ।

यसैले प्रदर्शनीले संयुक्त उद्यम, प्रविधि हस्तान्तरण, बजार प्रबन्धका साथै दुई देशबीचको जन-जन सम्पर्कलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ।

भारतीय उद्यम प्रदर्शनीमा विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने र भारतका विभिन्न भागबाट आएका ५० भन्दा बढी भारतीय कम्पनीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्दैछन्। यसका साथै नेपाली व्यवसायी तथा व्यापारीहरूको पनि उत्साहजनक सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ।