राष्ट्रपति कोविन्द डिसेम्बर १५ देखि १७ तारिख सम्म बंगलादेशको तीन दिने राजकीय भ्रमणमा

भारतको ‘छिमेकी पहिलो’ नीतिमा बंगलादेशको विशेष स्थान रहेको दोहोर्‍याउँदै, राष्ट्रपति रामनाथ कोविन्दले बुधबार बंगलादेशसँग भारतको विकास साझेदारी सबैभन्दा व्यापक र फराकिलो रहेको बताएका छन्।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा बंगलादेश भ्रमण मा जानुभएको भारतीय राष्ट्रपति ५०औँ विजय दिवस समारोहमा भाग लिने छन्।

कोभिड महामारीको प्रकोप पछि यो उनको पहिलो राज्य भ्रमण हो।

बुधबार बिहान ढाका पुगेपछि राष्ट्रपति कोविन्दले दिउँसो बंगलादेशका राजनीतिक नेतृत्व, राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यी भेटघाटहरूमा राष्ट्रपतिले मुजिब वर्षोको ऐतिहासिक अवसरमा, बंगलादेशको मुक्तिको ५०औँ वार्षिकोत्सव र भारत-बंगलादेश द्विपक्षीय सम्बन्धको ५० वर्ष पूरा भएकोमा बंगलादेश सरकार र जनतालाई बधाई दिएका छन्।

उनले बंगलादेशको स्वतन्त्रता संग्राम हालैको इतिहासमा एक प्रेरणादायी घटना भएको र भारत यसमा सहभागी हुन पाउँदा सम्मानित भएको बताएका छन्।

राष्ट्रपति कोविन्दले ५० वर्षअघि भारत र बंगलादेशबीच भाषा, नाता, धर्म र सांस्कृतिक आस्थाका साथै पारस्परिक सम्मानको समानतामा आधारित विशेष मित्रता सुरु भएको बताउनुभयो ।

राष्ट्रपतिले भारतको ‘छिमेकी पहिलो’ नीतिमा बंगलादेशको विशेष स्थान रहेको दोहोर्‍याउनु भयो।

उनले बंगलादेशसँग भारतको विकास साझेदारी सबैभन्दा व्यापक र फराकिलो भएको पनि बताएका छन्।

दुई देशको सम्बन्ध जस्तोसुकै जटिल परिस्थितिको पनि सामना गर्न सक्ने उनले बताएका छन्।

व्यापार र सम्पर्क बारे बोल्दै राष्ट्रपतिले सम्पर्क र जडान भारत-बंगलादेश सम्बन्धको महत्त्वपूर्ण स्तम्भ भएको बताएका छन्। भौगोलिक निकटताबाट दुई देशले धेरै लाभ लिन सक्ने उनको भनाइ छ ।

बंगलादेश भारतको सबैभन्दा ठूलो व्यापार साझेदार भएकोमा उनले खुसी व्यक्त गरेका छन्। भ्रमण मा रहेका भारतीय राष्ट्रपतिले भारतले दुई देशबीच थप व्यवस्थित र निर्बाध व्यापारको अपेक्षा गरेको बताएका छन् ।

उनले अन्तरिक्ष, आणविक प्रविधि, रक्षा, औषधि तथा अन्य उन्नत विज्ञान तथा प्रविधि क्षेत्रमा साझेदारीको प्रशस्त सम्भावना रहेको पनि उल्लेख गरेका छन् ।

राष्ट्रपति कोविन्दले औपचारिक ‘बृहत् आर्थिक साझेदारी सम्झौता’ले दुईतर्फी व्यापारलाई महत्वपूर्ण प्रोत्साहन दिने उल्लेख गर्नुभयो।

कोभिड महामारीको समयमा भारत र बंगलादेशबीचको सहकार्यलाई औंल्याउँदै राष्ट्रपतिले महामारीको समयमा बंगलादेशबाट प्राप्त सहयोगको प्रशंसा गर्नुभयो।

बंगलादेश भारतबाट खोप प्राप्त गर्ने पहिलो देश र भारतमा बनेको खोपको सबैभन्दा ठूलो प्राप्तकर्ता भएकोमा उनले खुसी व्यक्त गर्नुभयो।

बहुपक्षीय मञ्चमा सहयोग बारे बोल्दै राष्ट्रपतिले भारत र बंगलादेशबीच विशेषगरी दक्षिण एसियासँग सम्बन्धित विषय र साझा चासोको फराकिलो सूची रहेको बताउनुभयो।

बुधबार साँझ बंगलादेशका राष्ट्रपतिले उनको सम्मानमा बंगलाभवनमा आयोजना गरेको रात्रिभोजमा उनी सहभागी हुनुभएको थियो ।

बिहीबार, राष्ट्रपति विजय दिवस परेडमा सहभागी हुनेछन् र बंगलादेशका राष्ट्रपतिले "मुजिब वर्षो" समारोहको समापनको अवसरमा आयोजना गरेको विजय दिवस स्वागत समारोहमा सहभागी हुनेछन्।

यसअघि भारतका राष्ट्रपति बुधबार बिहान ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए जहाँ उनलाई बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले स्वागत गरेका थिए ।

राष्ट्रपतिलाई विमानस्थलमा औपचारिक स्वागत र गार्ड अफ अनर दिइएको थियो ।

त्यसपछि उनले सावरस्थित राष्ट्रिय शहीद स्मारकमा पुगेर बंगलादेश स्वतन्त्रता संग्रामका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यसपछि उनले बंगलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानलाई सम्मान प्रकट गर्न ३२ धानमण्डीस्थित बंगबन्धु स्मृति संग्रहालयको भ्रमण गरेका थिए।