कोइम्बटूरको सुलुरमा रहेको वायुसेना अड्डा बाट उडेको केही समयपछि हेलिकप्टर दुर्घटना

बुधबार दिउँसो तमिलनाडुको कुन्नूर नजिकै भारतीय वायुसेना (आईएएफ) को हेलिकप्टर दुर्घटना भएको छ। यस दुखद दुर्घटनामा परी मृत्यु हुने १३ व्यक्तिहरू मध्ये रक्षा प्रमुख जनरल बिपिन रावत र उनकी पत्नी मधुलिका रावत थिए।

दुर्घटनामा बाँचेका जीपी क्याप्टेन वरुण सिंह अहिले वेलिंग्टनको सैन्य अस्पतालमा उपचाररत छन्।

पूर्व सेना प्रमुख, जनरल विपिन रावतलाई सन् २०१९ मा भारतको पहिलो चीफ अफ डिफेन्स स्टाफको रूपमा नियुक्त गरिएको थियो।

जनरल रावत डिफेन्स सर्भिसेज स्टाफ कलेज, वेलिंग्टन (निलगिरी हिल्स) को स्टाफ कोर्सका संकाय र विद्यार्थी अधिकारीहरूलाई सम्बोधन गर्न भ्रमणमा गएका थिए।

हेलिकप्टर कोइम्बटूरको सुलुर स्थित वायुसेना बेसबाट निलगिरि पहाडमा रहेको वेलिंग्टनका लागि उडेको केही समयपछि नै दुर्घटना भएको थियो ।

भारतीय वायुसेनाले दिउँसो २ बजे दुर्घटना भएको पुष्टि गरेको छ ।

भारतीय वायुसेनाले ट्विटरमा जानकारी दिदैं भन्यो, " आज दिउँसो आईएएफ एमआई १७ भि५ हेलिकप्टर को कुन्नुर तमिलनाडु मा दुर्घटना भएको छ। ४ सदस्य दल सहित सिडिएस र ९ अन्य यात्रु को मृत्यु भएको छ।"

मृत्युको आधिकारिक पुष्टि भएपछि विभिन्न व्यक्तित्वहरुले शोक व्यक्त गरेका छन्।

राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनको आधिकारिक ट्विटर ह्यान्डलमा भने, "जनरल बिपिन रावत र उनकी पत्नी मधुलिका जीको असामयिक निधनले म स्तब्ध र दुखित छु। राष्ट्रले आफ्नो एक बहादुर छोरा गुमाएको छ। मातृभूमिको लागि उनको चार दशकको नि:स्वार्थ सेवा असाधारण छ। उनको परिवारलाई समवेदना।"

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गहिरो दुःख व्यक्त गरेका छन् ।

"तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनाबाट म निकै दुःखी छु, जसमा हामीले जनरल बिपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य कर्मचारीहरू गुमाएका छौं। उनीहरूले अत्यन्त लगनशीलताका साथ भारतको सेवा गरे। मेरो समवेदना शोकसन्तप्त परिवारहरूसँग छ,"

उनले जनरल बिपिन रावतलाई "उत्कृष्ट सिपाही" भनेर वर्णन गर्नुभएको छ।

"एक सच्चा देशभक्तको रुपमा उहाँले हाम्रो सशस्त्र बल र सुरक्षा उपकरणको आधुनिकीकरण गर्न ठूलो योगदान दिनुभयो। रणनीतिक मामिलामा उहाँको अन्तरदृष्टि र दृष्टिकोण असाधारण थियो। उहाँको निधनले म स्तब्ध छु। ओम शान्ति," उनले थपे।

"भारतको पहिलो सीडीएसको रूपमा, जनरल रावतले रक्षा सुधार सहित हाम्रो सशस्त्र बलसँग सम्बन्धित विविध पक्षहरूमा काम गरे। उनले आफूसँग सेनामा सेवा गर्ने समृद्ध अनुभव ल्याए। भारतले उनको असाधारण सेवालाई कहिल्यै बिर्सने छैन," प्रधानमन्त्री मोदीले भने।

रक्षामन्त्री राजनाथ सिंहले उनको असामयिक निधनले हाम्रो सशस्त्र बल र देशको लागि अपूरणीय क्षति भएको बताएका छन्।

"जनरल रावतले असाधारण साहस र लगनशीलताका साथ देशको सेवा गरेका थिए। रक्षा स्टाफको पहिलो प्रमुखको रूपमा उहाँले हाम्रो सशस्त्र बलको संयुक्तताका लागि योजनाहरू तयार गर्नुभएको थियो," उनले ट्विटरमा एक पोस्टमा भने।

रक्षामन्त्री र सेना प्रमुख एमएम नरवाने आधिकारिक घोषणा आउनु अघि दिल्लीमा जनरल रावतको घर गएका थिए।

भारतीय सेनाले मृतकप्रति दुःख व्यक्त गरेको छ ।

"जनरल एमएम नरवाने #सिओएएस र #भारतीयसेना का सबै अधिकारी #कुन्नुर मा एक दुर्भाग्यपूर्ण हवाई दुर्घटनामा जनरल बिपिन रावत #सिडिएस, श्रीमती मधुलिका रावत र बोर्डमा रहेका अन्य ११ यात्रुहरूको असामयिक निधनमा हार्दिक शोक व्यक्त गर्दछन्,"

"जनरल बिपिन रावतको गतिशील र प्रेरणादायक नेतृत्व हाम्रो सम्झनाहरूमा सदाको लागि बा्नेछ। #भारतीयसशस्त्रबल उहाँको अमूल्य योगदानको लागि सधैं ऋणी रहनेछ," भारतीय सेनाले थप्यो।