वेबिनारमा उज्वेकिस्तानका राजदूत, फिजी, माल्दिभ्स र मरिससका उच्चायुक्त लगायत करिब २० कूटनीतिज्ञ पनि सहभागी हुने

निर्वाचन मा महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहभागिता अभिवृद्धि गर्न भारतीय निर्वाचन आयोगले शुक्रबार अन्तर्राष्ट्रिय वेबिनार आयोजना गर्ने भएको छ। यस वेबिनारमा रुस, दक्षिण कोरिया, दक्षिण अफ्रिका र बंगलादेश लगायत २४ देशका प्रतिनिधि सहभागी हुनेछन् ।

भारतीय निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति अनुसार उज्वेकिस्तानका राजदूत, फिजी, माल्दिभ्स र मरिससका उच्चायुक्तहरू सहित करिब २० कूटनीतिज्ञहरू पनि वेबिनारमा सहभागी हुने कार्यक्रम छ।

बंगलादेश, भुटान, कम्बोडिया, इथियोपिया, फिजी, जर्जिया, काजाकिस्तान, कोरिया गणतन्त्र, लाइबेरिया, मलावी, मरिसस, मंगोलिया, फिलिपिन्स, रोमानिया, रुस, साओ टोम र प्रिन्सिपे, सोलोमन टापु, दक्षिण अफ्रिका, श्रीलंका, सुरिनाम, ताइवान, उज्वेकिस्तान, यमन र जाम्बिया जस्ता विश्वका २४ देशहरूबाट करिब सय प्रतिनिधिहरू र चार अन्तर्राष्ट्रिय संस्थाहरू - अन्तर्राष्ट्रिय आइडिया, निर्वाचन प्रणालि सम्बन्धी अन्तर्राष्ट्रिय संस्थान (आईएफईएस), विश्व निर्वाचन निकाय संघ (ए-वेब), युरोपेली निर्वाचन केन्द्र वेबिनार मा सहभागी हुँदैछन्।

यस अन्तर्राष्ट्रिय वेबिनारले सबै सहभागीहरूलाई विचार आदानप्रदान गर्न तथा महिला, अपाङ्गता भएका व्यक्तिहरू (पीडब्लुडी) र ज्येष्ठ नागरिक मतदाताहरूको निर्वाचन सहभागिता अभिवृद्धि गर्नका लागि गरिएका उत्कृष्ट अभ्यास र पहलहरू साटासाट गर्न तथा एकअर्काको अनुभवबाट सिक्ने राम्रो अवसर प्रदान गर्नेछ।

वेबिनारमा महिला, अपाङ्गता भएका व्यक्ति (पीडब्लुडी) र ज्येष्ठ नागरिकको निर्वाचन सहभागिता अभिवृद्धि गर्नका लागि उनीहरूले अपनाएका उत्कृष्ट अभ्यास र पहलका बारेमा निर्वाचन व्यवस्थापन निकाय र संस्थाहरूले सहभागिता जनाउँदै प्रस्तुतीकरण गर्नेछन्।