साझा समृद्धि र सुरक्षाका लागि साझेदारहरूसँग काम गर्न भारत तयार: प्रधानमन्त्री मोदीले

सिड्नी संवाद को उद्घाटन समारोहमा हिन्द प्रशान्त क्षेत्रमा भारतको केन्द्रीय भूमिका बारे प्रकाश पार्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिइएको छ। यस बारे जानकारी दिदैं बिहिबार प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-अष्ट्रेलिया व्यापक रणनीतिक साझेदारीलाई क्षेत्र र विश्वको लागि राम्रो शक्तिको रूपमा वर्णन गरेका छन्।

सिड्नी संवाद को केन्द्र विषय ' उदाउँदो, महत्वपूर्ण र साइबर प्रविधि' रहेको छ जसबारे बोल्दै उनले भने, " हामी परिवर्तनको समयमा छौं जुन युगमा एकपटक हुन्छ। डिजिटल युगले हाम्रो वरिपरि सबै कुरा परिवर्तन गरिरहेको छ। यसले राजनीति, अर्थतन्त्र र समाजलाई पुन: परिभाषित गरेको छ।"

प्रविधिले मानव समाज र अस्तित्वका हरेक पक्षलाई कसरी नयाँ आकार दिइरहेको छ भन्ने कुरामा थप ध्यान दिँदै उनले भने, ‘यसले सार्वभौमसत्ता, शासन, नैतिकता, कानून, अधिकार र सुरक्षामा नयाँ प्रश्न खडा गरिरहेको छ। यसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, शक्ति र नेतृत्वलाई पुन: आकार दिइरहेको छ। यसले प्रगति र समृद्धिको अवसरको नयाँ युगको सुरुवात गरेको छ ।”

तर नँया प्रविधिको उदय संगै, "हामीले समुद्र देखि साइबर र अन्तरिक्ष सम्म विभिन्न खतराहरु, नयाँ जोखिम र द्वन्द्व का नयाँ रूपहरु को सामना गरिरहेका छौं। प्रविधि पहिले नै विश्वव्यापी प्रतिस्पर्धाको एक प्रमुख औजार बनिसकेको छ र भविष्यको अन्तर्राष्ट्रिय व्यवस्थालाई आकार दिने कुञ्जी बनिसकेको छ। प्रविधि र तथ्याङ्क नयाँ हतियार बन्दै गएका छन्। लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति खुलापन हो । हामीले केही निहित स्वार्थलाई यो खुलापनको दुरुपयोग गर्न बाट रोक्नु पर्दछ।"

प्रधानमन्त्रीले साझा समृद्धि र सुरक्षाका लागि भारत साझेदारहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।

"भारतको डिजिटल क्रान्ति हाम्रो लोकतन्त्र, हाम्रो जनसांख्यिकी, र हाम्रो अर्थव्यवस्थाको मापनमा निहित छ। यो हाम्रो युवाहरूको उद्यम र नवीनता द्वारा संचालित छ, "प्रधानमन्त्री मोदीले भन्नुभयो।

उनले अगाडि भन्नुभयो, " हामी विगतका चुनौतीहरूलाई भविष्यमा फड्को मार्ने अवसरमा परिणत गर्दैछौं। भारतमा पाँचवटा महत्त्वपूर्ण परिवर्तन भइरहेका छन्। एक, हामी विश्वको सबैभन्दा व्यापक सार्वजनिक सूचना पूर्वाधार निर्माण गर्दैछौं।"

“१.३ अरब भन्दा बढी भारतीयहरूको एक अद्वितीय डिजिटल पहिचान छ। हामी ६ लाख गाउँलाई इन्टरनेट को माध्यमबाट जोड्ने प्रयास मा छौं । हामीले विश्वको सबैभन्दा कुशल भुक्तानी पूर्वाधार, युपिआई निर्माण गरेका छौं। ८० करोड भन्दा बढी भारतीयहरूले इन्टरनेट प्रयोग गर्छन्; ७५ करोड भारतीय ले स्मार्ट फोनको प्रयोग गर्छन्।"

"हामी इन्टरनेट को सबैभन्दा ठूलो उपभोक्ताहरू मध्ये एक हौं र संसारमा सबैभन्दा सस्तो इन्टरनेट हामी कहाँ उपलब्ध छ। हामी सुशासन, समावेशीकरण, सशक्तीकरण, सम्पर्क, लाभको वितरण र कल्याणका लागि डिजिटल प्रविधि प्रयोग गरेर जनताको जीवन परिवर्तन गर्दैछौं।"

“सबैले भारतको वित्तीय समावेशीकरण, बैंकिङ र डिजिटल भुक्तानी क्रान्तिको बारेमा सुनेका छन्। भर्खरै, हामीले स्वास्थ्यसेतु र कोविन मञ्च मार्फत १ अरब भन्दा बढी भारतीय लाई खोप प्रदान गरेका छौं।"

“हामी हाम्रा १ अर्बभन्दा बढी जनसंख्या का लागि किफायती र विश्वव्यापी स्वास्थ्य सेवा‌ प्रदान गर्न राष्ट्रिय डिजिटल स्वास्थ्य अभियान पनि निर्माण गर्दैछौं। हाम्रो एक राष्ट्र, एक कार्डले देशको जुनसुकै ठाउँमा लाखौं कामदारहरूलाई फाइदा पुर्‍याउनेछ। भारतसँग विश्वको तेस्रो ठूलो र सबैभन्दा छिटो बढ्दो स्टार्टअप वातावरण छ। हरेक हप्ता नँया व्यवसाय को निर्माण हुँदै छ। उनीहरूले स्वास्थ्य र शिक्षादेखि राष्ट्रिय सुरक्षासम्म सबै कुराको समाधान उपलब्ध गराउँदै आएको प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो।

भारतको उद्योग, सेवा क्षेत्र र कृषिमा पनि ठूलो डिजिटल रूपान्तरण भइरहेको उनले बताउनुभएको छ।

‘स्वच्छ ऊर्जा उत्सर्जन, स्रोतको रूपान्तरण र जैविक विविधताको संरक्षणका लागि पनि हामीले डिजिटल प्रविधिको प्रयोग गरिरहेका छौं,’ प्रधानमन्त्रीले भन्नुभयो।

“भारतलाई भविष्यका लागि तयार गर्न ठूलो प्रयास भइरहेको छ। हामी ५जी र ६जी जस्ता दूरसंचार प्रविधिमा स्वदेशी क्षमताहरू विकास गर्न लगानी गर्दैछौं। भारत कृत्रिम बुद्धिमत्ता विशेष गरी मानव-केन्द्रित र कृत्रिम बुद्धिको नैतिक प्रयोगमा अग्रणी राष्ट्र बनेको छ। हामी क्लाउड मञ्च र क्लाउड कम्प्युटिङमा बलियो क्षमताहरू विकास गर्दैछौं।"

"हामी क्वान्टम कम्प्युटिङमा विश्वस्तरीय क्षमताहरू निर्माण गर्दैछौं। भारतको अन्तरिक्ष कार्यक्रम हाम्रो अर्थतन्त्र र सुरक्षाको महत्वपूर्ण हिस्सा हो। अब निजी क्षेत्र पनि आविष्कार र लगानीका लागि खुला भएको छ।"

विश्वभरका कम्पनीका निम्ति साइबर सुरक्षा समाधान र सेवाहरू उपलब्ध गराउन भारत पहिले नै प्रमुख केन्द्र भएको कुरा राख्दै उनले भने: “भारतलाई साइबर सुरक्षाको विश्वव्यापी केन्द्र बनाउन हामीले हाम्रो उद्योगमा कार्य दलको स्थापना गरेका छौं। हामीसँग हाम्रो सीप र विश्वव्यापी विश्वासको फाइदा छ। र अब, हामी हार्डवेयरमा ध्यान केन्द्रित गरिरहेका छौं। हामी सेमीकन्डक्टरहरूको प्रमुख निर्माता बन्न प्याकेज तयार गर्दैछौं। इलेक्ट्रोनिक्स र दुरसञ्चार मा हाम्रो उत्पादन योजनाहरूले पहिले नै स्थानीय र विश्वव्यापी लगानीकर्ता लाई भारतमा आधारहरू स्थापना गर्न आकर्षित गरिरहेका छन्।"

प्रधानमन्त्रीले आजको प्रविधिको सबैभन्दा ठूलो उपज तथ्यांक भएको बताउनुभयो।

“भारतमा हामीले तथ्यांक सुरक्षा, गोपनीयता र सुरक्षाको बलियो ढाँचा बनाएका छौं। र, एकै समयमा, हामी मानिसहरूको सशक्तिकरणको स्रोतको रूपमा तथ्यांक प्रयोग गर्छौं। भारतसँग व्यक्तिगत अधिकारको बलियो सुरक्षा छ र लोकतान्त्रिक ढाँचामा यो गर्ने अतुलनीय अनुभव छ।"