भूकम्प पछि पुनर्निर्माण सहायता स्वरुप भारतद्वारा नेपाललाई आवास क्षेत्र निर्माण का निम्ति १५ करोड अमेरिकी डलर दिने प्रतिबद्धता

भारतले नेपालको नुवाकोट र गोरखा जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण सम्पन्न गरेको नेपालका लागि भारतीय नियोग उपप्रमुख नामग्यासी खम्पाले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताएका छन् ।

नेपालस्थित भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (एनआरए), युएनडीपी र युएनओपीएसको सहकार्यमा आयोजना गरेको कार्यक्रममा खम्पाले भारत सरकारले अपनाएको स्वामित्वमा आधारित पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेका हुन्।

भारतले १० करोड अमेरिकी डलर अनुदान र चौथो ऋण रेखा अन्तर्गत ५ करोड अमेरिकी डलर बराबरको सहायता मार्फत ५० हजार आवास क्षेत्र निर्माण गरिएको हो।

गोरखा र नुवाकोट जिल्लाका ४ सहरी नगरपालिका र १४ गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीहरूलाई सामाजिक-प्राविधिक सहजीकरण तथा परामर्श सेवाहरू उपलब्ध गराउन सन् २०१८ को मार्च महिनामा भारतले युएनडिपी र युएनओपीएस लाई संलग्न गराएको थियो।

कार्यक्रममा सिकेका पाठ र आगामी बाटो बारे कार्यशाला समेत आयोजना गरिएको थियो ।

निजी आवास पुनर्निर्माण परियोजनाको प्रभावकारिता र सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र एनआरएका निकायहरूले खेलेको निर्णायक भूमिकालाई सराहना गर्न तथा परियोजनाका प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो।

यसबाहेक, कार्यशालामा उत्कृष्ट अभ्यास र मुख्य सिकाइ साझा गरिएको थियो भने स्थानीय सरकारलाई आवश्यक निर्देशन दिइएको थियो र भविष्यका सन्दर्भ परियोजना तथा प्रभावकारिता उपाय बारे छलफल भएको थियो।

सन् २०१५ को भूकम्पबाट प्रभावित नेपालका कूल ११ जिल्लामा ७१ शिक्षा क्षेत्रका आयोजना, १ सय ३२ स्वास्थ्य भवन र २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण का लागि पनि भारतले एनआरएसँग काम गरिरहेको छ ।

कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख नामग्यासी खम्पा, एनआरएका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गोरखा पालुङटार नगरपालिकाका मेयर र नुवाकोट विदुर नगरपालिकाका उपमेयरको सहभागिता थियो ।

यसका साथै एनडिआरएमए का प्रतिनिधि, विभिन्न सरकारी निकाय, युएनडिपी, युएनओपीएस, ईयु, युएसएड, विश्व बैंक, कृषि विकास बैंक, जिका, एफएनसिडिओ लगायत सम्बन्धित नगरपालिका/गाउँपालिकाका प्रतिनिधिहरू पनि कार्यक्रम मा उपस्थित थिए।