एक शताब्दीअघि सो मूर्ति काशीबाट चोरेर क्यानडा तस्करी गरिएको थियो

क्यानडाबाट हालै ल्याइएकी अन्नपूर्णा देवीको मूर्ति बिहीबार केन्द्रीय र राज्यमन्त्रीहरूको उपस्थितिमा उत्तर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो।

यो मूर्ति वाराणसीको काशी विश्वनाथ मन्दिरमा नोभेम्बर महिनाको १५ तारिख मा स्थापना गरिनेछ।

१७ x ९ x ४ सेन्टिमिटर नापको ढुङ्गाको मूर्ति एक शताब्दीअघि काशीबाट चोरेर क्यानडा तस्करी भएको थियो । देवी अन्नपूर्णा खाद्य र पोषणकी देवी हुन्।

भारतीय पुरातत्व सर्वेक्षण विभागले यसै वर्ष अक्टोबर महिनाको १५ तारिखमा अन्नपूर्णा देवीको मूर्ति प्राप्त गरेको संस्कृति मन्त्रालयले जनाएको छ ।

१८ औं शताब्दीको मूर्ति युनिभर्सिटी अफ रेजिनाको म्याकेन्जी आर्ट ग्यालरीको संग्रहमा थियो। विश्वविद्यालयले गत वर्ष क्यानडा स्थित भारतको उच्चायुक्तलाई हस्तान्तरण गरेको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष नोभेम्बरमा आफ्नो रेडियो प्रसारण ‘मन की बात’ मा क्यानडाबाट यो मूर्ति फिर्ता गर्ने घोषणा गरेका थिए।

बिहीबार दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त मूर्ति औपचारिक रूपमा उत्तर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

केन्द्रीय संस्कृति मन्त्री जी किशन रेड्डीले मिडियालाई संयुक्त राज्य अमेरिकाबाट थप १ सय ५७ वटा पुरातन वस्तुहरू पहिचान गरिएको र चाँडै भारत फर्काइने जानकारी दिएका छन्।

संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले अन्नपूर्णा देवीको मूर्ति काशी विश्वनाथमा फिर्ता ल्याउने प्रयासका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभयो।

उनले भनिन्, ‘समय बदलिएको छ, पहिले भारतका सांस्कृतिक प्रतीकहरू बाहिर निकालिएको थियो तर अहिले त्यो क्षति पूर्ति गरिंदै छ र हराएको सम्पदा अहिले भारत फर्काइँदैछ ।'

सन् १९७६ देखि हालसम्म ५५ वटा मूर्ति भारतमा फिर्ता गरिएको छ। ५५ पुरातन वस्तुमध्ये ४२ वटा सन् २०१४ पछि फिर्ता भएका हुन् ।

प्रधानमन्त्री मोदीको हालैको संयुक्त राज्य अमेरिका भ्रमणको क्रममा, हिन्दू, बौद्ध र जैन धर्मसँग सम्बन्धित १सय ५७ वटा कलाकृति, पुरातात्विक वस्तुहरू र मूर्तिहरू अमेरिका सरकारले भारत सरकारलाई हस्तान्तरण गरेको थियो।