नेपाल र भारतबीच रक्षा क्षेत्रमा व्यापक सहयोग रहेको छ

भारतीय सेना प्रमुख जनरल एमएम नरवणेको निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको चारदिने भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधानसेनापतिलाई यही नोभेम्बर १० तारिखमा राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहबीच भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भारतमा रहँदा जनरल शर्माले भारतीय रक्षा सचिव अजय कुमार, रक्षा प्रमुख जनरल विपिन रावत, सेना प्रमुख जनरल एमएम नरवणे र एयर चिफ मार्शल भीआर चौधरीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

उनको साथमा जनरल शर्माकी धर्मपत्नी तथा नेपाली सेना पत्नी संघ (नावा)की अध्यक्ष सुनिता शर्मा पनि हुनेछिन् ।

सोमबार, उहाँ प्रस्थान गर्नु अघि, प्रधान सेनापति शर्मालाई सेनाको मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो।

उक्त औपचारिक विदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाली सेनाका महानिरीक्षकहरु र आवासीय रक्षा सहचारीहरुको उपस्थिति रहेको थियो ।

सन् १९५० देखि नेपाल र भारतले दुई सेनाबीचको आपसी सुमधुर सम्बन्धको कदर गर्दै एक अर्काका सेना प्रमुखलाई मानार्थ जनरलको दर्जा प्रदान गर्दै आएका छन् ।

नेपाल र भारतबीच रक्षा क्षेत्रमा व्यापक सहयोग रहेको छ । भारतले नेपाली सेनाको आधुनिकीकरणमा उपकरण आपूर्ति र तालिम प्रदान गर्दै आएको छ ।

विपद्को समयमा सहयोग, संयुक्त सैन्य अभ्यास, साहसिक गतिविधि र द्विपक्षीय भ्रमण ले नेपालसँग भारतको रक्षा सहयोगको पक्ष उजागर गरेको छ।

नेपाली सेनाका धेरै सुरक्षाकर्मीहरू भारतीय सेनाका विभिन्न तालिम संस्थाहरूमा प्रशिक्षण प्राप्त गर्दै आएका छन्।

‘भारत–नेपाल बटालियन स्तरीय संयुक्त सैन्य अभ्यास सूर्यकिरण’ एकान्तर रूपमा भारत र नेपालमा सञ्चालन हुने गर्दछ।

भारत-नेपाल संयुक्त बटालियन स्तरीय सैन्य तालिम ‘सूर्य किरण’ को १५ औं संस्करण अक्टोबर २ तारिख मा भारतको उत्तराखण्डको पिथौरागढमा सम्पन्न भएको छ ।
कोभिड–१९ को महामारीका बेला पनि दुई देशका प्रमुखको नियमित आदान-प्रदान र भ्रमणहरू भइरहेका छन्।

गत नोभेम्बरमा भारतीय सेना प्रमुख एमएम नरभाने नेपाल भ्रमणमा आएका थिए ।

उनले नेपाली सेनालाई एक्स–रे मेसिनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

नेपाली सेनाका दुई क्षेत्रीय अस्पतालका लागि कम्प्युटेड रेडियोग्राफी प्रणाली, आईसीयू भेन्टिलेटर, भिडियो एन्डोस्कोपी युनिट र एनेस्थेसिया मेसिन उपलब्ध गराइएको छ ।

नयाँ दिल्ली र काठमाडौं बीचको मित्रता र बलियो सम्बन्धको प्रतीकस्वरूप भारतले यस वर्षको मार्चमा नेपाली सेनाका लागि कोभिड–१९ खोपको एक लाख खुराक पठाएको थियो ।