जी २० नेताहरूको शिखर सम्मेलन र कोप २६ सम्मेलनमा भाग लिन प्रधानमन्त्री रोम र ग्लासगोको भ्रमण मा‌ जानुहुँदै

रोम र ग्लासगोको भ्रमण मा जानु अघि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार आफ्नो प्रस्थान विज्ञप्तिमा महामारी पछि विश्वव्यापी आर्थिक र स्वास्थ्य सुधार र जलवायु परिवर्तन नै १६ औं जी २० शिखर सम्मेलनको मुख्य मुद्दा रहेको उल्लेख गर्नुभएको छ।

जी २० शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अक्टोबर महिनाको २९ देखि ३१ तारिख सम्म इटाली को भ्रमण गर्नुहुनेछ भने यो सन् २०२० मा महामारीको प्रकोप पछि जी २० को पहिलो व्यक्तिगत शिखर सम्मेलन हुनेछ।

शिखर सम्मेलनले "हामीलाई वर्तमान विश्वव्यापी अवस्थाको समीक्षा गर्न र कसरी आर्थिक लचिलोपनलाई बलियो बनाउन र महामारीबाट कसरी समावेशी र दिगो रूपमा सुधार गर्न सकिन्छ भन्ने बारे विचार आदानप्रदान गर्न मञ्च प्रदान गर्नेछ।," प्रधानमन्त्रीले आफ्नो प्रस्थान विज्ञप्तिमा भन्नुभएको छ।

इटाली भ्रमणका क्रममा प्रधानमन्त्रीले भ्याटिकन शहर पुगेर पोप फ्रान्सिस सँग भेटघाट गर्नुहुनेछ र विदेशमन्त्री कार्डिनल पिट्रो पारोलिन सँग पनि भेटघाट गर्नुहुनेछ।

जी २० शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री मोदीले अन्य साझेदार देशका नेताहरूसँग पनि भेट गर्नुहुनेछ र उनीहरूसँग भारतको द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्नुहुनेछ।‌

इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा प्रधानमन्त्री मोदी रोमको भ्रमण गर्दै हुनुहुन्छ।

आफ्नो दुई देशको भ्रमणको दोस्रो र अन्तिम चरणमा, प्रधानमन्त्री मोदी जलवायु परिवर्तनमा संयुक्त राष्ट्र रुपरेखा महासन्धि (युएनएफसिसि) को २६ औं दलको सम्मेलन (कोप २६) मा सहभागी हुन बेलायतको ग्लासगो जानुहुनेछ।

नोभेम्बर महिनाको १ र २ तारिखमा हुने ‘विश्व नेता शिखर सम्मेलन’ नामक कोप–२६ सम्मेलनको उच्चस्तरीय खण्डमा सहभागी हुँदा प्रधानमन्त्रीले कार्बन स्थानको समन्यायिक वितरण, न्यूनीकरणका लागि सहयोग,अनुकूलन र लचिलोपन निर्माण उपायहरू, वित्त परिचालन, प्रविधि हस्तान्तरण र हरित र समावेशी वृद्धिको लागि दिगो जीवनशैलीको महत्त्व र जलवायु परिवर्तनका समस्यालाई व्यापक रूपमा सम्बोधन गर्नुहुने छ ।

ग्लासगोमा हुने कोप२६ सम्मेलनमा विश्वभरका १ सय २० भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरू सहभागी हुँदैछन्।

‘पृथ्वीप्रति गहिरो सम्मान गर्ने, प्रकृति र संस्कृतिसँग मेलमिलापमा बाँच्ने हाम्रो परम्परा अनुसार हामी स्वच्छ र नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, वनीकरण र जैविक विविधताको विस्तारमा महत्वाकांक्षी कदम चालिरहेका छौं,।’ प्रधानमन्त्रीले भन्नुभयो।

उनले भारतले जलवायु अनुकूलन, न्यूनीकरण र लचिलोपन र बहुपक्षीय गठबन्धनका लागि सामूहिक प्रयासमा नयाँ कीर्तिमान कायम गरिरहेको बताउनुभयो।

उनले थप भन्नुभयो, "स्थापित नवीकरणीय ऊर्जा, वायु र सौर्य ऊर्जा क्षमताको सन्दर्भमा भारत विश्वको शीर्ष देशहरू मध्ये एक बनेको छ। डब्लुएलएस मा म जलवायु कार्य र हाम्रा उपलब्धिहरू का बारे जानकारी प्रदान गर्नेछु।"

कोप२६ शिखर सम्मेलनले साझेदार देशका नेताहरू, आविष्कारकहरू र अन्तर-सरकारी संगठनहरू लगायत सबै सरोकारवालाहरूसँग भेट्न र स्वच्छ विकासलाई थप गति दिनका लागि सम्भावनाहरू अन्वेषण गर्ने अवसर पनि प्रदान गर्नेछ।