विकासोन्मुख देशहरूमा वैकल्पिक उत्पादन क्षमता बढाउनुपर्छ: प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार विश्वव्यापी आपूर्ति श्रृंखला सुधार गर्न सबैभन्दा महत्त्वपूर्ण तीन पक्षहरू: विश्वसनीय स्रोत, पारदर्शिता र समय सीमा भएको बताउनुभयो।

इटालीको रोममा आयोजित जी २० शिखर सम्मेलनको पृष्ठभूमीमा अमेरिकी राष्ट्रपति जो बाइडेन द्वारा आयोजना गरिएको आपूर्ति श्रृंखला सुदृढीकरण बैठकमा प्रधानमन्त्री मोदीले पनि सम्बोधन गर्नुभएको थियो।

सो‌ क्रममा उनले भन्नुभयो, " हाम्रो आपूर्ति विश्वसनीय स्रोत बाट हुनु आवश्यक छ। यो हाम्रो साझा सुरक्षाको लागि पनि महत्त्वपूर्ण छ। विश्वसनीय स्रोत मा प्रतिक्रियाशील प्रवृत्ति हुनुहुँदैन। यसबाट मात्र विश्वव्यापी आपूर्ति श्रृंखला सुरक्षित हुनसक्छ।"

आपूर्ति शृङ्खलाको विश्वसनीयताका लागि यसमा पारदर्शिता पनि आवश्यक रहेको उनले बताउनुभयो। प्रधानमन्त्री मोदी ले विश्वका धेरै कम्पनीहरूले पारदर्शिताको अभावका कारण साना साना चीजहरूको अभावको सामना गरिरहेको औंल्याउनुभयो।

उनले भन्नुभयो, "अत्यावश्यक वस्तुको समयमै आपूर्ति हुन नसके यसले ठूलो नोक्सानी निम्त्याउन सक्छ। हामीले कोरोनाको समयमा चिकित्सा र स्वास्थ्य आपूर्तिमा यो कुरा स्पष्ट रूपमा बुझेका छौं। त्यसैले समयसीमा भित्र आपूर्ति सुनिश्चित गर्न, हामीले हाम्रो आपूर्ति श्रृंखलालाई विविधीकरण गर्नुपर्छ। र यसका लागि विकासोन्मुख मुलुकमा वैकल्पिक उत्पादन क्षमताको विकास गर्नुपर्छ।"

उनका अनुसार भारतले औषधि, आईटी र अन्य वस्तुहरूको विश्वसनीय स्रोतको रूपमा आफ्नो विश्वसनीयता निर्माण गरेको छ।

उनले थप भन्नुभयो, " हामी स्वच्छ प्रविधि मा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न तत्पर छौं। हामीले हाम्रा साझा लोकतान्त्रिक मूल्यमान्यताहरूको आधारमा निश्चित समय सीमा भित्र थप कार्य योजना ल्याउन हाम्रा टोलीहरूलाई निर्देशन‌ दिनु जरुरी छ।"

प्रधानमन्त्री मोदी ले महामारी को शुरुवाती समयमा खोप, स्वास्थ्य उपकरण र अत्यावश्यक औषधिहरू उत्पादन गर्न चाहिने कच्चा पदार्थको अभाव सबैले महसुस गरेकाे बताउनुभयो।

उनले भन्नुभयो, " महामारी पछि अब विश्व आर्थिक सुधार गर्न तत्पर छ तर अर्धचालक र अन्य वस्तुहरूको आपूर्ति समस्या स्वस्थ वृद्धिको मार्ग मा अवरोध खडा गर्दै छ। संसारमा कसले सोचेको थियो कि जहाज कन्टेनरको अभाव हुनेछ?"

भारतले विश्वव्यापी खोप आपूर्ति सुधार गर्न खोपको निर्यातलाई तीव्रता दिएको कुरा औंल्याउँदै उनले भन्नुभयो, "हामी हिन्द प्रशान्त क्षेत्रमा राम्रो र किफायती कोविड-१९ खोप आपूर्ति गर्न हाम्रा क्वाड साझेदारहरू सँग पनि सहकार्य गरिरहेका छौं"।

भारतले अर्को वर्ष विश्वका लागि ५ अर्ब कोभिड खोप खुराक उत्पादन गर्ने तयारी गरिरहेकोले कच्चा पदार्थको आपूर्तिमा कुनै बाधा हुन नहुने कुरा पनि निकै महत्त्वपूर्ण रहेको प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभयो।